May 5, 2026, Tuesday
२०८३ बैशाख २२

कतारका राजा अमिर आउँदै, नेपालभर आज सार्वजनिक बिदा

काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा पहिलोपटक आज नेपाल आउन लागेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्ने भएका हुन् ।

दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले उनलाई उच्च प्रोटोकलको सुरक्षा व्यवस्था दिँदै छ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

साथै सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने निर्णय गरेको छ । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । मन्त्रिपरिषद्को बैठकले नेपाल र कतारबिच हुने विभिन्न विषयका समझदारी पत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बिच समाचार आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ ।

राजा थानीको भ्रमणको तयारीका लागि कतारबाट पहिले नै तीन दर्जन  भन्दा बढी प्रतिनिधिहरू आइसकेका छन्। दुई देशबीच कूटनीति सम्बन्ध स्थापना भएपछि कतार प्रमुखबाट हुन लागेको यो पहिलो उच्च भ्रमण हो।

दुई देशबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसपछि नेपालका तत्कालीन राजाहरू, प्रधानमन्त्रीहरू, मन्त्रीहरूले, सभामुखलगायतका उच्च पदस्थहरू कतार भ्रमणमा गइसकेका छन्। तर कतारबाट अहिलेसम्म नेपालमा मन्त्रीस्तरीय भ्रमण मात्र भएको छ। 

कतार विशेषगरी धेरै नेपालीहरू श्रमिकहरू पुगेको मुलुकमा पर्छ। यो नेपालको मात्र नभई एसियाली मुलुकका श्रमिकहरूको प्रमुख गन्तव्य स्थल पनि हो। कतारमा साढे ३ लाख हाराहारीमा नेपाली छन्। 

कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्नेछन् ।