May 5, 2026, Tuesday
२०८३ बैशाख २२

तराईमा अत्यधिक बढ्यो गर्मी, सुदूरपश्चिम प्रदेश लगायतमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । तराईका भू-भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

विभागले आगामी पाँच दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । 

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै: थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले जनाएको छ । 

विभागले तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक–पटक पानी तथा झोल पदार्थ जुस, सर्बत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत आग्रह गरेको छ । 

साथै हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश लगायत कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।