प्रधानमन्त्री प्रचण्ड र एसका नेता खनालबीच भेटवार्ता, बेलुकासम्म मिलाउन कोसिस गर्छु- प्रचण्ड

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खनाल बालुवाटार गएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसंगको छलफलमा नेकपा एकीकृत समाजवादीका नेता खनालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् ।
उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए । गठबन्धनको सँस्कृति र मर्मअनुसार अघि बढ्न आग्रह गर्दै झलनाथले ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने कुराले हेपिएको महसुस भएको बताएका थिए ।
‘सुदूरपश्चिम प्रदेशमा धेरै ठूलो समस्या छैन। यसैका कारण गठबन्धनमा समस्या सिर्जना पनि हुँदैन। त्यहाँ एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिनेबित्तिकै सबैकुरा मिल्छ। मैले यही कुरा प्रधानमन्त्रीलाई भनेँ,’ खनालले भने।
आजको भेटमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ पनि रहेको खनालले बताए। ‘तीनैजना बीच एक खालको समझदारी त बनेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउनेबित्तिकै विवाद हल हुन्छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन् । प्रचण्डले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले समस्या सिर्जना गरेको भन्दै एकीकृत समाजवादीलाई चिढ्याउने मनसाय नभएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि आफू क्रियाशील रहेको बताएका थिए । ‘सुदूरपश्चिमको विवाद आज बेलुकासम्म मिलाउने कोसिस गर्छु, तपाईंले पनि आफ्नो पार्टीभित्र मिलाउन पहल गर्नुस्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीको पहिलो कार्यकाल आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको थियो। तर, प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई दिएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।
सोमबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको दाबी परेका थियो। एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति गरेका छन् । सो सहमति अनुसार लक्ष्मणकिशोरले आइतबार नाउपाका ७ जना, कांग्रेसका १८ जना र एकीकृत समाजवादीका ४ जना गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन आफूलाई भएको भनेर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
यसैगरी नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षका अर्का प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि नाउपाका ७, एमालेका १०, माओवादी केन्द्रका १० र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी गरी २८ जनाको समर्थन आफूलाई भएको भन्दै आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
नाउपाबाटै दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखले परामर्श गर्ने भन्दै निर्णय लिएका छैनन् ।





प्रतिकृया दिनुहोस्