कांग्रेस बैठक : संसदीय छानबिन समितिलाई ‘बटमलाइन’ बनाउने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाउने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो । सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो रहन्छ ।’ संसदीय छानबिन समितिका विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेको थापाले जानकारी दिए ।
कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन् ।
प्रमुख सचेतक लेखकले मंगलबार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए । ‘भोलि बिहान ७ बजे बानेश्वरको ल्होत्से हलमा संसदीय कार्यसमितिको बैठक बस्छ । त्यसपछि ९ बजे संसदीय दलको बैठक बस्छ,’ लेखकले भने, ‘हामीले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत छ । हामीले अरुपनि निर्णय गर्छौं ।’
कांग्रेसले सहकारी ठगीमा मन्त्रीहरुको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा सुनिसकेको भन्दै गृहमन्त्री लामिछानेको कुरा सुन्नुको कुनै अर्थ नभएको लेखकले बताए ।
‘कि नेपालमा दुई वटा सरकार छ भन्नुपर्यो । हामीले एउटा सरकारको कुरा सुनिसक्यौं । प्रधानमन्त्रीजीले भनिसक्नु भयो । प्रधानमन्त्रीको कुरामा चित्त नबुझेर हामीले संसदीय छानबिन समिति माग्यौं,’ लेखकले भने, ‘सबै मन्त्रीको पहिलो मन्त्री प्रधानमन्त्री हो । हामीले प्रधानमन्त्रीकै कुरा सुनिसकेकाले सहकारी ठगीमा अरु कसैको कुरा सन्दैनौं ।’
संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने लेखकको भनाइ छ । उनका अनुसार संसदीय दलको बैठकले संसद्मा आएका महत्वपूर्ण विधेयकमाथि छलफल गरेर समान धारणा बनाउने छ ।
बजेटको सेसन, संसदीय समितिमा रहेका विधेयकमाथि प्रभावकारी ढंगले कांग्रेसले भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल हुने लेखकले बताए ।





प्रतिकृया दिनुहोस्