May 5, 2026, Tuesday
२०८३ बैशाख २२

कांग्रेसले तोक्यो उपनिर्वाचन परिचालन संयोजक, इलाममा विश्वप्रकाश, बझाङमा एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचन हुने दुई क्षेत्रका लागि चुनाव परिचालन संयोजक तोकेको छ । कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा (१) का लागि केन्द्रिय सदस्य एवं पूर्वमन्त्री एनपी साउदलाई संयोजक तोकेको हो ।

महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए । उनी छिमेकी जिल्ला झापा १ बाट निर्वाचित हुन् । बझाङमा खटाइएका साउद कन्चनपुरबाट निर्वाचित हुन् ।

चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गरिने महामन्त्री शर्माले जानकारी गराएका छन् ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का जिल्ला सभापति समेत हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा इलाम–२ मा ८ स्वतन्त्र सहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन् । बझाङको प्रदेश सभामा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।