May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट एमालेले मुख्यमन्त्रीमा दाबी गर्दै

काठमाडौं । गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट एमालेले मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ । सत्ता गठबन्धनको तर्फबाट गण्डकी प्रदेशमा सभामुखसहित एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्न लागेको एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिएका हुन् ।

‘सभामुखलाई लागि राजीनामा गराएर जाने कि नगराई जाने भन्नेमा छलफलमा छौं तर आजै दाबी पेस गर्छौं,’ प्रमुख सचेतक नेपालीले भने ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरुलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी केन्द्रका आठै जना प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । गण्डकी प्रदेशमा सभामुख धितालसहित नेकपा माओवादी केन्द्रका आठ सदस्य छन् ।

कांग्रेस नेतृत्वको अघिल्लो सरकारको पालामा भौतिक पूर्वाधारमन्त्री बनेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पनि गठबन्धनमा समेटिएको नेताहरुले बताएका छन् । उनले पनि एमाले नेता अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाए सत्ता गठबन्धनलाई ठिक्क बहुमत पुग्दछ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।  सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र (दीपक मनाङ्गे) एक गरी ठिक्क बहुमत पुग्छ ।

यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।