May 5, 2026, Tuesday
२०८३ बैशाख २२

सरकार गठनका लागि लुम्बिनीमा ४४ जना सांसदको हस्ताक्षरसहित माओवादीका महराले गरे दाबी पेस

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन्।गठबन्धन दलहरूका तर्फबाट महराले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्।

नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी, प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरेलगायत नेताहरु गठबन्धनको तर्फबाट सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष पुगेका हुन्।

प्रदेश प्रमुख शेरचनले आज शुक्रबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।

महराले आफ्नो पक्षमा गठबन्धन दलका ४४ जना सांसदहरूको हस्ताक्षर बुझाएको एमाले प्रमुख सचेतक चौधरीले जानकारी दिए। महरा रोल्पाबाट निर्वाचित सांसद हुन्। यसअघि लिला गिरी मुख्यमन्त्री रहेको बखत महरा तीन महिना अर्थमन्त्री भएर जिम्मेवारी निर्वाह गरेका थिए।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४ सांसद छन् । राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । बिहीबार सत्तासाझेदार दल हरूले नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य सहित महराको पक्षमा हस्ताक्षर गरेका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको छ। प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरीले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।