गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा, सरकार गठनका लागि दिइयो ७ दिनको समय

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् ।
मुख्यमन्त्री पाण्डेले राजीनामा दिएपछि गण्डकी प्रदेशका प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका छन् । बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेका थिए । त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो ।





प्रतिकृया दिनुहोस्