April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

त्रिशूलीमा ट्याक्सी खस्यो : पाँचजनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौँ । त्रिशूलीमा नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिएका हुन।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्। पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए।