May 5, 2026, Tuesday
२०८३ बैशाख २२

आज तराईका जिल्लामा होली मनाइँदै

काठमाडौं । आज तराईमा होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने प्रचलन रहेको छ।

पहाडी क्षेत्रमा आइतबार नै होली मनाइएको छ । तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाइन्छ।

होलीलाई असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा हार्षोल्लासका रूपमा मनाउने गरिन्छ। होलीले एक अर्कामा सौहार्द र आत्मियता बढाउने भएकाले यसले मानिसहरूबीच एकतालाई अझै प्रगाढ तुल्याउने विश्वास गरिन्छ।

केही वर्षयता होली मनाउने शैली सभ्य बन्दै पनि गएको छ। मानिसहरूको इच्छाविपरीत रङ दल्ने र लोला हान्ने प्रवृत्ति निस्तेज हुँदै गएको छ।

होलीलाई सभ्य तरिकाले मनाउन र उच्छृंखल गतिविधि हुन नदिन स्थानीय प्रशासनहरूले उल्लेख्य संख्यामा प्रहरी परिचालन गर्छन्।

होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी जिल्लाहरुमा भने आइतबार सार्वजनिक बिदा थियो ।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेगमा ‘फागु पूणिर्मा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।