May 5, 2026, Tuesday
२०८३ बैशाख २२

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको बताएका हुन। इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो ।  

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका हुन् ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा उनलाई छाडिएको प्रहरीले जनाएको छ । महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुन: मुद्धा चलाउन सिफारिस गरेको थियो ।

आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर पूरक प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले बताए ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अनुसन्धान अधिकृहरुसँग नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्, ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’

उनका छोरा राहुल महरा यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । महरालाई भने सीआईबीले यसअघि प्रतिवादी बनाएको थिएन । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका थिए ।