कांग्रेसले नाराबाजी गर्दै वेल घेरेपछि संसद् बैठक स्थगित, गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसदहरूले वेल घेर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको हो ।
शुक्रबार दिउँसो कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। दोस्रो बैठक सुरू भएलगत्तै कांग्रेस सांसदहरूले फेरी वेल घेराउ गरेका हुन्।
सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए।
लगत्तै कांग्रेस सांसदहरू वेलतर्फ अघि बढेका थिए। उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए। साथै उनीहरूले गृहमन्त्री लामिछानेको राजीनामा पनि मागेका थिए।
कांग्रेसको केही बेरको नाराबाजी पछि सभामुखले बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै बैठक स्थगन गरेका हुन् । अर्को बैठक यही चैत ४ गते (आइतबार) बिहान ११ बजे बस्ने सभामुखले जानकारी दिए ।
कांग्रेस सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएकोले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जबाफ दिनुपर्ने माग गरिरहेका छन्।





प्रतिकृया दिनुहोस्