प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन र राष्ट्रियसभा अध्यक्षको निर्वाचनका बेला माओवादी सांसदलाई अनिवार्य उपस्थितिका निम्ति ह्वीप जारी गरिएको समेत उनले बताए ।
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले भोलि (आइतबार) जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बनेकाहरूको शपथ लिने र त्यसपछि सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
‘खास गरेर प्रतिनिधिसभामा विश्वासको मत र राष्ट्रियसभामा अध्यक्षको निर्वाचन हुँदैछ। उपाध्यक्ष सहितको निर्वाचन हुने गरेर एक खालको सहमती पनि भइसकेको छ,’ उनले भने, ‘यी सबै विषय वस्तुहरूलाई पनि मध्यनजर गर्दै त्यो बेलामा हाम्रो दलका प्रतिनिधिसभाका माननीयहरू विश्वासको मत लिने बेलामा, राष्ट्रिय सभाका माननीय सदस्यहरू राष्ट्रिय सभाको अध्यक्षको, उपाध्यक्षको निर्वाचन हुने बेलामा सबै उपस्थित गर्नका लागि ह्वीप जारी गर्नुपर्ने विषयबस्तु छ।’
जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।
त्यस्तै बैठकले सरकारमा सहभागी अन्य दलहरूसँग छलफल गरेर मात्रै सो आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउने निर्णय गरेको हो।
कांग्रेस नेतृत्वको यसअघिको गठबन्धन सरकारको तर्फबाट गत फागुन १४ गते बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतबारे पेस गरिएको थियो।
सो बजेटबारे संसदमा छलफल गर्नुअघि नयाँ सत्तारूढ दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले लगायतका गठबन्धन बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।
संसदीय दलको बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा पनि विश्वासको मत लिनका लागि प्रतिनिधि सभा सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।





प्रतिकृया दिनुहोस्