May 5, 2026, Tuesday
२०८३ बैशाख २२

आज मार्च ८ तारिख : ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौं । आज मार्च ८ तारिख अर्थात् ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको हो ।

यसकै अबसरमा नेपालमा पनि कार्यक्रम आयोजना गरेर मनाइँदै छ। यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ।

सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन्। पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो।

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो। लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइने भएको छ।