प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे- कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो ।
संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसको निष्कर्ष छ ।
‘प्रधानमन्त्री पुपष्कमल दाहालजीले हामीलाई विवासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं ।’
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामीले गठबन्धनको संस्कृति, मूल्यमान्यता र सम्पूर्ण सहमतिलाई पालना गरिराखेकै अवस्थामा अविश्वनीय ढंगले गठबन्धन भत्काउने जुन काम गर्नुभयो, यो कुनै हिसाबले राजनैतिक इमान्दारी हुन सक्दैन ।’
गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ ।
संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले बताएको छ । ‘हामीले हाम्रा सांसदहरुलाई संसदमा देश जनताका हितमा प्रधावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन गरेका छौं,’ प्रमुख सचेतक लेखकले भने ।
प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि सोमबार कांग्रेस सरकारबाट बाहिरिएको थियो । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयलाई आज दलको बैठकले पनि अनुसरण गरेको लेखकले बताए ।





प्रतिकृया दिनुहोस्