दलहरु आन्तरिक छलफलमा : मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।
आ(आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका हुन् । आन्तरिक छलफलपछि मन्त्रालयको बाँडफाँट मिलाउन सत्ता गठबन्धनको बैठक पनि आज बस्दैछ।
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बैठक बस्ने तय भए पनि समय यकिन नभएको बताए। ‘मन्त्रालयको भागबन्डा टुंगो नलागेकाले सरकारमा को पठाउने भनेर छलफल हुँदैन। पहिलो कसले कति पाउने, गठबन्धनमा कोको आउने टुंगो लाग्नुपर्यो,’ उनले भने।
माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी भएको नेताहरु बताएका छन् । यद्यपि यसको अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।
आजै एकीकृत समाजवादीको पनि बैठक बस्दै छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले मंगलबार भेटेर सरकारमा सहभागी हुन अनुरोध गरेका थिए । अध्यक्ष नेपालले पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने जवाफ दिएका थिए । त्यसैले एकीकृत समाजवादीको सचिवालय बैठक ११ बजे बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान फेरि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेटेर छलफल गरेका छन् ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । बैठकमा मन्त्री चयनको विषयमा छलफल भइरहेको स्रोतले बतायो । जसपाको यो बैठक मंगलबार चार बजे बस्ने भनिए पनि अध्यक्ष उपेन्द्र यादवको कार्यव्यस्तताको कारण आज बिहान ९ बजेदेखि मात्र सुरु भएको हो ।
आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी छ । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एक-एक जना नेताहरु सम्मिलित कार्यदल बनाइएको छ । कार्यदलले शीर्ष नेताहरुलाई सिफारिस गर्ने र आजै अन्तिम टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।
नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।
गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ ।
‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले र रास्वपासहितको गठबन्धन निर्माण गरेका छन् । नयाँ गठबन्धनबाट एमाले, माओवादी र रास्पपाका एक-एक जना मन्त्रीले सोमबार सपथ ग्रहण गरेका थिए । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।





प्रतिकृया दिनुहोस्