May 5, 2026, Tuesday
२०८३ बैशाख २२

त्रिशूलीमा बस खस्दा सात जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते

काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा सात जनाको मृत्यु भएको जानकारी दिएका हुन ।

डीएसपी जैसवालका अनुसार दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए ।

प्रवक्ता नायव उपरीक्षक जैसवालका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४स्४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको थियो ।