November 3, 2024, Sunday
१८ कार्तिक २०८१, आईतवार

पार्टी फुटाउने तत्वसँग एकता हुँदैन : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने तत्वसँग एकता नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै उनले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगर्ने, पार्टी कमजोर बनाउने र दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरूलाई एमालेमा स्वागत गर्न नसकिने बताएका हुन् । 

अध्यक्ष ओलीले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरे । उनले अघि भने, ‘गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ। अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तीव्रताका साथ रहेको छ।’ 

उनले भने, ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्त्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन् ।  किनभने उनीहरूलाई दुई तिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तीव्रताका साथ रहेको छ ।’ 

पार्टी प्रवेश गर्नेहरूमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरू रहेका छन् ।