April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, ६५ जना सांसदमात्रै उपस्थित

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन ।

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विसं २०७८ मा ल्याइएको दलसम्बन्धी अध्यादेश खारेज भइसकेकाले साविकको ऐनमा भएका व्यवस्थाहरु कायम राख्नका लागि विधेयक ल्याइ पेस गरेकी थिइन्।

उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेस गरेको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेस गर्न लाग्दा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए।

तत्पश्चात् सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत सङ्ख्या यकिन गर्न लगाउँदा एक चौथाइ सदस्य नपुगेपछि विधेयक पेस गर्ने कार्यसूची हटेको हो ।

सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उक्त समयमा उपस्थिति भएको जानकारी सभामुख घिमिरेले बैठकलाई गराए। सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।

नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेसा गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।