April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बुँदे माग बुझाएर देशैभर प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार प्रधानमन्त्रीलाई ४० बुँदे माग बुझाउँदै छ। राप्रपाले प्रधानमन्त्रीलाई ४० बुँदे माग बुझाएर आजदेखि देशैभर प्रदर्शन गर्ने भएको हो ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाउन लागेको छ।

‘बुधबार काठमाडौंमा प्रधानमन्त्रीलाई र देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने र दबावमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ,’ पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका हुन।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुअघि राजधानीको भृकुटीमण्डपबाट दबाबमूलक र्याली सुरु गरेर भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गर्ने र त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा साढे १ बजे सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

राप्रपाको पूर्वनिर्णयअनुसार बुधवार नै सबै जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने छ । साथसाथै आफ्नो मागबारे दबाबमूलक प्रदर्शन गर्ने पनि कार्यक्रम रहेको छ । 

राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ । त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ ।