April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

कांग्रेस महासमिति बैठकमा पेश भएका प्रस्तावमाथि समूहगत छलफल हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने भएको छ । सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पाँच प्रतिवेदन पेस भएका थिए । 

कांग्रेसको ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी महासमिति बैठकमा मंगलबार पेश भएका प्रतिवेदनहरूमाथि आजदेखि समूहगत छलफल हुने जनाइएको छ।

चार वटा समूह विभाजन गरी पेश भएका प्रतिवेदनमाथि छलफल हुने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताएका हुन । 

मंगलबार बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए। महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए।

अर्थमन्त्रीसमेत रहेका प्रवक्ता प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रस्ताव पेश गरेका थिए।

पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि चारवटा हलहरुमा छलफल हुने संयोजक विश्वकर्माले जानकारी दिए । उनका अनुसार गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ ।

फागुन ७ गतेदेखि गोदावरीमा कांग्रेसको महासमिति बैठक जारी छ। कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।