काँग्रेस महासमिति बैठक : आजबाट बन्दसत्र सुरु, बैठकमा प्रतिवेदन पेश हुने

काठमाडौं । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आजबाट बन्दसत्र सुरु हुँदैछ। सोमवारबाट गोदावरीमा सुरू भएको महासमिति बैठकको पहिलो दिन उद्घाटन सत्र सकिएको थियो।
आजबाट सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा मध्यरातमा सहमति जुटेपछि आज पेश हुन लागेको हो। महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति शेरबहादुर देउवा असन्तुष्ट थिए। तर, पदाधिकारी र पूर्व पदाधिकारीबीच भएको लामो छलफलपछि सभापति देउवा उक्त विषयमा सहमत भएपछि आज प्रतिवेदन पेश हुन लागेको हो।
महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म संचालन हुने छ । बैठकमा केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।
ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुने बताइएको छ ।
महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने छन् ।





प्रतिकृया दिनुहोस्