आजदेखि कांग्रेस महासमिति बैठक सुरु हुँदै, सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठक आजबाट सुरु हुँदैछ । प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठक सुरु हुने भएको हो ।
महासमिति बैठकका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको छ । कांग्रेस प्रचार(प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिएका थिए ।
फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नुरहेको विश्वकर्माले बताए ।आइतबार दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने उनले बताए ।
विश्वकर्माका अनुसार महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् । ‘
ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुनेछ ,’ विश्वकर्माले भने ।
नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने उनको भनाइ छ ।
महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । ‘वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने छ,” विभाग प्रमुख विश्वकर्माले भने ।





प्रतिकृया दिनुहोस्