सरुवा भएका एसपीहरुलाई निर्देशन दिदै गृहमन्त्री श्रेष्ठले भने, ‘दबाब र प्रभावमुक्त भएर काम गर्नु’

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।
सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रुपमा खटिइएका ३४ प्रहरी उपरीक्षकलाई आज विशेष निर्देशन दिँदै उनले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर सुरक्षा स्थितिको गहन विश्लेषण गर्दै कार्यक्षेत्रमा कटिबद्ध भएर खटिन अनुरोध गरे।
उपप्रधानमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कारबाही गर्न, त्यसविरुद्ध युवाबीच सचेतना कार्यक्रम सञ्चालन गर्न तथा सुधार केन्द्र बनाउनसमेत निर्देशन दिए। सरकारले सामाजिक न्यायको क्षेत्रमा अभूतपूर्व काम गरिरहेको उल्लेख गर्दै उनले मिटरब्याजीका नाममा कुनै बिचौलिया देखिए तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए।
मन्त्रालयले पहुँच र विभिन्न स्वार्थका आधारमा नभई क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेको जनाउँदै उनले अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा विचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने बताए।
प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्नसमेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।
मन्त्रालयले प्रहरी अधिकारीहरूको सरुवा, काज सरुवा र पदस्थापनमा निश्चित मापदण्ड तय गरिसकेको छ। त्यही मापदण्ड अनुसार एसपीहरूको नयाँ जिम्मेवारी तोकिएको हो।
पहुँच र भनसुन आधारमा नभएर सेवा अवधि, क वा ख वर्गका जिल्लामा काम गरेको आधार, जिल्ला प्रमुखको रूपमा काम गरेको आधार र एउटै जिम्मेवारीमा नदोहोरिने गरी मापदण्ड बनाइएको हो।
जस्तो कि क वर्गका जिल्लामा काम गरिसकेका प्रहरी अधिकारीको ख वर्गका जिल्लामा सरुवा हुनेछ भने ख वर्गका जिल्लामा काम गरिसकेका प्रहरी अधिकारीको क वर्गका जिल्लामा सरुवा हुनेछ।
त्यस्तै कुनै जिल्लामा प्रमुखका रूपमा काम गरिसकेका प्रहरी अधिकारीको पुनः अर्को जिल्लामा तत्काल प्रमुखकै रूपमा सरुवा हुन नसक्ने मापदण्ड तय गरिएको छ।
अब सरुवा मापदण्ड प्रभावकारी बनाउन पहिल्यै योग्य अधिकारीहरूको सूची सार्वजनिक गरी त्यसै भित्रबाट जिम्मेवारी तोकिने तयारी समेत मन्त्रालयले गरेको छ।
मन्त्रालयले यही फागुन १ गते २२ जिल्ला प्रहरी कार्यालय, सात प्रहरी गण, चार ट्राफिक प्रहरी कार्यालय र एक अन्य गरी ३४ प्रहरी उपरीक्षकको सरुवा गरेको थियो। सो अवसरमा गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत उच्च अधिकारीको उपस्थिति थियो।
बिहीबार बिहान गृहमन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको उपस्थितिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्य क्षेत्रमा खट्न आग्रह गरेका थिए।
यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि उनले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामूहिक निर्देशन दिएका थिए।
जिम्मेवारीमा जानुअघि अधिकारीहरूलाई आवश्यक निर्देशन दिने प्रचलनको सुरुवात गृहमन्त्री श्रेष्ठले नै गरेका हुन। यसले अधिकारीहरूलाई सरकारको कार्यभार, नीति र कार्यक्रमको स्पिरिट बुझेर काम गर्न तथा कार्य कुशलता देखाउन हौसला मिल्ने विश्वास समेत मन्त्रालय नेतृत्वले लिएको छ।
सरकारले पहुँच र विभिन्न स्वार्थका आधारमा होइन क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेकोले बिनासङ्कोच, दबाब र प्रभाव मुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए।





प्रतिकृया दिनुहोस्