May 5, 2026, Tuesday
२०८३ बैशाख २२

भृकुटीमण्डपमा दुर्गा प्रसाईँले गरे शक्ति प्रदर्शन, संवाद गर्न राप्रपाले बनायो वार्ता समिति

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेका हुन् ।

उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरेका छन् ।

राजधानीमा आयोजित सभामा मानिसहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईँको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ ।

उक्त कार्यक्रममा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका थिए। प्रसाईँको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरे पनि संस्थागत सहभागिता नरहने भएको जनाएको छ ।

पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ । पूर्वराजा शाह दुई दिनअघि नै चितवन पुगेका छन्। उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् ।

चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ।प्रसाईंले पूर्वराजालाई बाराको सिमरामा भेटेर कार्यक्रमको निम्ताका साथै समर्थन खोजेका थिए । सो भेटपछि उनले पूर्वराजासँग अर्थपूर्ण संवाद भएको समेत बताएका थिए । 

यस्तै प्रसाईंले राजतन्त्र फर्काउनका लागि फागुन १ मा कार्यक्रम गरेर आन्दोलन समेत गर्ने भनेर राप्रपाका नेताहरुसँग समर्थक जुटाउने प्रयास गरेपनि असफल भएका छन् । प्रसाईले सोहीअनुसार सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर समर्थन खोजेका थिए ।

यस्तै उनले कार्यक्रममा समेत सहभागी हुन आग्रह गरेपनि उनले अस्वीकार गरेका थिए । यति मात्र होइन राप्रपाले प्रसाईँसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले प्रसाईंसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

‘हाम्रो तर्फबाट वार्ता समिति सदस्यहरू तोकिइसकिएको छ। उता (प्रसाईं) पक्षबाट पनि वार्ता टोली बनेपछि औपचारिक रूपमा छलफल अघि बढ्छ।’ प्रसाईंले भृकुटीमण्डपमा कार्यक्रम गर्नुअघि मंगलबार भक्तपुरस्थित एक रिसोर्टमा राप्रपा महामन्त्री राणालगायतसँग कुराकानी पनि गरेका थिए। 

प्रसाईंले राप्रपाका अध्यक्ष लिङ्देनसहित नेताहरूसँग आफ्नो अभियानलाई समर्थन गर्न आग्रह गर्दै आएका छन्। ‘राजावादी’ हरू एक ठाउँमा उभिनुपर्ने तर्क उनीहरूको छ।

अर्को राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने साईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गर्दै आएका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई छ । 

प्रसाईँ राजसंस्था, गणतन्त्र खारेजी, हिन्दु धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका छन् । प्रसाईंले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् भने मिटरब्याज र लघुवित्त पीडितको मुद्दा पनि बोकेका छन् ।

प्रसाईंले बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने आश्वासन दिँदै देशका विभिन्न क्षेत्रका मानिसलाई काठमाडौं ल्याएर आन्दोलन गर्ने गरेका छन्। २० लाख रूपैयाँभन्दा सानो सबै ऋण माफ गर्नुपर्ने उनको माग छ। प्रसाईंमाथि भने गत चैतदेखि बैंकको साँवा-ब्याज नतिरेको आरोप छ।