February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

अब एक स्थानीय तह एक हुलाक : हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज

काठमाडौँ । सरकारले हुलाक सेवाका दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हुलाक सेवा अन्तर्गतका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन ।

उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताइन् । उनले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय भएको उल्लेख गरिन् । 

उनले भनिन्,‘एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाक सेवाको संगठन संरचना परिवर्तन गर्ने निर्णय भएको छ । जसमा केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय खारेज गर्ने र हुलाक अन्तर्गतका एक पालिका एक हुलाक सरकारको नीतिलाई कार्यान्वयन गर्ने । हुलाकमा रहेका १६३६ दरबन्दी खारेज गर्ने निर्णय भएको छ ।’

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदा जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयहरू खारेज गर्ने र प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय राख्ने घोषणा गरेको थियो।

सोही घोषणा कार्यान्वयन गर्न यो निर्णय गरिएको मन्त्री शर्माले बताइन्।