May 5, 2026, Tuesday
२०८३ बैशाख २२

रिक्त २५ पदका लागि उपनिर्वाचन गर्न निर्वाचन आयोगले थाल्यो छलफल

काठमाडौँ । निर्वाचन आयोगले रिक्त २५ पदमा उपनिर्वाचनका लागि छलफल सुरु गरेको छ । आयोगले एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य सीटसहित २५ पदमा उपनिर्वाचन गराउन छलफल सुरु गरेको हो ।

छलफलकै क्रममा आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेको छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर उपनिर्वाचनबारे छलफल गरेको मन्त्रालयस्रोतले जनाएको छ ।

प्रमुख आयुक्त थपलियाले आयोगको हालसम्मको तयारीबारे उपप्रधानमन्त्री खड्कालाई ब्रिफिङ गर्दै उपनिर्वाचनको वातावरण बनाउन आग्रह गरेको बताइएको छ ।

प्रतिनिधिसभामा इलाम क्षेत्र नम्बर–२ रिक्त छ । जहाँबाट निर्वाचित नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

प्रदेशसभा तर्फ सुदूरपश्चिम प्रदेश बझाङको प्रदेश निर्वाचन क्षेत्र नम्बर–१ रिक्त छ । त्यहाँबाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो ।

यस्तै आयोगका अनुसार अन्य रिक्त पदमा जिल्ला समन्वय समिति प्रमुखमा दुई, नगर उपप्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र १७ वडाध्यक्ष पद रिक्त छन् ।