May 5, 2026, Tuesday
२०८३ बैशाख २२

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९  गते हुने भएको छ। राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा रिक्त हुन लागेको अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्नेगरी छलफल भएको हो।

राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिका अनुसार माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक बस्नेछ।

शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ ।

अहिले सम्भावित कार्यातालिका बनेपनि राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिदैछ। कार्यतालिका अनुसार संसद सञ्चालन हुने हो भने फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षको चुनाव हुनेछ।

गत माघ ११ गते रिक्त १९ सदस्यका लागि राष्ट्रिय सभा चुनाव भएको थियो। नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का ५, नेकपा (एकीकृत समाजवादी) का २, जसपाका १ र नेकपा (एमाले) का १ जना निर्वाचित भएका थिए।

यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।

राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक जना सदस्य छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै रिक्त छ।

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला प्रमुख दावेदार छन्। उनलाई राष्ट्रिय सभा अध्यक्ष पदमा उठाउनकै लागि उम्मेवार बनाइएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले बताएका थिए।

यद्यपि नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पदामा आफ्नो तर्फबाट उम्मेदवार बनाउनुपर्ने तर्क गर्दै आएको छ। राष्ट्रिय सभा अध्यक्ष पनि संवैधानिक परिषदमा सदस्य रहने व्यवस्था छ।

राष्ट्रिय सभा अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा कांग्रेस र माओवादीसहित सत्ता गठबन्धन दलका शीर्ष नेताले छलफल गरिसकेका छैनन्। कांग्रेसका नेता सिटौलाले भने आफू कार्यकारी भूमिका (मन्त्री भएर सरकारमा) जानेभन्दा पनि नीति निर्माणमा आफ्नो रूची रहेको बताउने गरेका छन्।