वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले उप उपनिर्वाचन बारे सरकारसँग प्रारम्भिक छलफलको तयारी गरेको छ । आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गर्ने तयारी गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए को जानकारी अनुसार स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरिरहेको हो ।
आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तहगरी कुल २५ पद रिक्त छन्, जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ ।
आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको पौडेलले जानकारी दिए । आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन् । नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद रिक्त छन् ।
कोशी प्रदेशको इलाम–२ प्रतिनिधि सभा निर्वाचन र सुदूरपश्चिमको बझाङ १ (१्) मा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रिक्त छन् । २३ प्रतिनिधिको निधन भई पद रिक्त भएका छन् । दुई जना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त भएका छन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।





प्रतिकृया दिनुहोस्