वडा-वडामा केन्द्रित हुँदै कांग्रेस : श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रमको आयोजना

काठमाडौँ । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको हो ।
स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी गरेको काग्रेसले जनाएको छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको कार्यक्रम रहेको जनाएको छ ।
‘नेपाली कांग्रेस स्थापनाको ७७ वर्ष बितेको छ । यो वर्ष हामी ७८ औँ स्थापना दिवस मनाउँदै छौँ,’ मुख्यसचिव पौडेलले भने, ‘यो पार्टीका लागि आफैँ ऐतिहासिक क्षण हो । त्यसकारण पनि दिवसलाई महत्वका साथ लिएर देशभरि विभिन्न कार्यक्रम हुँदै छन् ।’
नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने ध्येयले खुलेको नेपाली कांग्रेस नेपालकै सबैभन्दा पुरानो दल हो । पहिले सीमित उद्देश्यले खुलेको भएपनि पछि यसले बृहत् रूप लिँदै मुलुकको शासन सत्तामा स्थापित भएको हो ।
जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली कांग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठुलो दलकारुपमा रहेको छ ।
विश्व राजनीतिक इतिहासको रङ्गमञ्चमा कांग्रेस नै त्यस्तो एउटा दल होला, जसको नेतृत्वमा तीन वटा शासन व्यवस्थालाई परास्त गरेर नयाँ शासन व्यवस्थाको स्थापना र नेतृत्व भएको होस् ।
नेपालमा १०४ वर्षे राणा शासन फ्याँक्ने नेतृत्व गरेको कांग्रेसले ३० वर्षे एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य र २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रको समेत अन्त्य गर्नेमा नेतृत्वदायी भूमिका निभाएको छ ।
नेपालमा कांग्रेसले २००७ सालमा प्रजातन्त्र ल्याउन सफल हुँदै २०३६ सालको जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहाली, २०६२÷०६३ सालको दोस्रो जनआन्दोलन हुँदै संविधानसभामार्फत संविधान घोषणामा समेत कांग्रेसकै नेतृत्व थियो ।
संविधानबमोजिम निर्वाचन गराउने काममा समेत कांग्रेस नेतृत्व सफल हुँदै आएको छ । हाल संसद्को ठुलो दल कांग्रेस केन्द्र र सात प्रदेशसहित देशभर ३ सयभन्दा धेरै स्थानीय तहको नेतृत्व गरिरहेको छ ।
वडामा केन्द्रित हुँदै कांग्रेस, आसनग्रहण र भाषणमा रोक
संगठन सुदृढीकरण र कार्यकर्ता तथा नागरिकका कुरा सुन्न नेपाली कांग्रेस वडामा केन्द्रित हुने भएको छ। ‘समुदायमा कांग्रेस अभियान’ घोषणा गरेर कांग्रेसले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरूलाई वडामा केन्द्रित गराउन लागेको हो।
समुदायमा गएर जनताका कुरा सुन्न यो अभियान सञ्चालन गरिएको महामन्त्री गगन थापा बताउँछन्। शनिबारदेखि माघ २६ गतेसम्म कांग्रेस वडामा केन्द्रित रहनेछ।
समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने कांग्रेसको तयारी छ। स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेल बताउँछन्। जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने उनले बताए।
कांग्रेसले फागुन ७ गतेदेखि १० गतेसम्म गोदावरीमा महासमिति बैठक गर्दैछ। यो बैठकबाट पार्टीले लिने नीति तय हुनेछ। महासमिति बैठकअघि कांग्रेस वडा तहमा पुगेर सुझाव संकलन गर्ने तयारीमा जुटेको हो।
कांग्रेसले वडा तहमा केन्द्रित हुनका लागि जिल्लाहरूमा समन्वय गर्न केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिले यही माघ १५ गतेदेखि मुलुकका ६ हजार ७ सय ४३ वडामा प्रतिनिधि खटाउनेछ।
‘केन्द्रीय पदाधिकारीहरू पनि अभियानका क्रममा विभिन्न ठाउँमा सहभागी हुनु हुनेछ,’ मुख्यसचिव पौडेलले भने, ‘यो अभियान वडामा केन्द्रित रहनेछ। जनताका कुरा सुन्ने अभियान भएकोले औपचारिक आसनग्रहण र मन्तव्यलगायत कार्यक्रम रहने छैन।’
कांग्रेसले शहिद दिवसका दिनदेखि वडा तहमा केन्द्रित भएर अभियान सञ्चालन गर्न लागेको छ। ‘उक्त दिन वडा तहमा मात्र कार्यक्रम हुनेछ। सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्म नेता, कार्यकर्ता आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नु पर्नेछ,’ उनले भने।
कांग्रेसले वडा तहमा श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुन नेताहरूलाई निर्देशनसमेत दिएको छ। समुदायमा कांग्रेस अभियानकै क्रममा महामन्त्री थापा हुलाकी राजमार्गकेन्द्रित अभियानमा हुनेछन्। थापाले २१ जिल्लामा कार्यकर्ता र जनताका कुरा सुन्न खोजेका छन्।





प्रतिकृया दिनुहोस्