April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशका चार संसदीय समितिमा सभापति निर्विरोध, भोली घोषणा गरिने

धनगढी । सुदूरपश्चिम प्रदेशका चार संसदीय समितिमा सभापति निर्विरोध निर्बाचित भएका छन् । प्रदेश सभाका चार वटा विषयगत समितिका सभापति पदमा चार जनाको एक/एक जनाको मात्रै उम्मेदवारी परे पछि निर्विरोध निर्बाचित भएका हुन् ।

नेपाली कांग्रेसका दिवानसिंह विष्टको विधायन तथा प्रदेश मामिला समितिमा उम्मेदवारी दर्ता भएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नेकपा एकीकृत समाजवादीकी माया पन्तको सामाजिक विकास समितिमा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापति वीरबहादुर थापाको मात्रै उम्मेदवारी दर्ता भएको छ।

सत्ता गठबन्धनका दलहरू बिच सोमबार साँझ भएको सहमति अनुसार मंगलवार दलहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीका अनुसार आज मनोनयनको समय ५ बजे सम्म तोकिएको थियो । उनले निर्धारित समय सम्म चार वटा समितिमा चार जनाको मात्रै उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

भोली सभापतिको उम्मेदवार माथि दाबी विरोध, सभापति उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सभापति निर्वाचनको लागि बैठक प्रारम्भ गर्दै निर्वाचन परिणाम घोषणा गर्ने जनाइएको छ ।