प्रदेश निजामती कर्मचारी ऐन संशोधन गर्न प्रतिवद्ध : प्रदेश सांसद बम

धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले प्रदेश निजामती कर्मचारी ऐन संशोधन गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समितिद्वारा प्रकाशित कर्मचारी युनियन प्रदेश डायरी तथा भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै सांसद बमले सो कुरा बताएका हुन् ।

अघिल्लो प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी ऐन ल्याएको थियो । ऐन विवादित भएपछि अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । अघिल्लो प्रदेश सरकारले ल्याएको प्रदेश निजामती कर्मचारी ऐनमा तमामौं त्रुटि रहेको बताउँदै सांसद बमले भने,‘कर्मचारीमैत्री ऐन बनाउन अहिलेको सरकार र सांसदले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मबहादुर देउवाको अध्यक्षतामा भएको कर्मचारी युनियन प्रदेश डायरी तथा भित्ते पात्रो विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रकाशबहादुर बम रहेका थिए । कार्यक्रममा बोल्दै संघीय निजामती सेवा ऐनको मस्यौदा कर्मचारीको हित विपरीत भएका दफाहरु संशोधन नभएमा कडा आन्दोलन गर्ने चेतावनी दिँदै केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष देउवाले भने,‘संघीय निजामती सेवा ऐनको मस्यौदालाई यथाशक्य संशोधन गरी कार्यान्वयनमा ल्याउन आग्रह गर्दछौँ, यदि त्यसो नगरिए हामी कडा आन्दोलनमा उत्रनेछौँ ।’

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य त्रैलोक्य जोशी, परमानन्द भट्ट, कैलाली जिल्ला अध्यक्ष खेमराज जोशी, कञ्चनपुर अध्यक्ष प्रेमसिंह ऐर, डोटी अध्यक्ष लालबहादुर बोगटी, बाजुरा अध्यक्ष कुलबहादुर रावल, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कैलाली अध्यक्ष विमलप्रकाश जोशी, डोटी अध्यक्ष गणेशबहादुर धामी, डडेल्धुरा अध्यक्ष खेम पनेरु र कञ्चनपुर अध्यक्ष खगेन्द्र पण्डित लगायतका कर्मचारी नेताहरुले मन्तव्य राखेका थिए ।
निजामती कर्मचारीका महाधिवेशन प्रतिनिधि तथा डायरी प्रकाशन समितिका संयोजक नारदप्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियनका कैलाली सचिव निर्मलकुमार देउवाले गरेका थिए ।





प्रतिकृया दिनुहोस्