April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रकार ऐरमाथि आक्रमण, घटनाको छानविन गर्दै प्रहरी

धनगढी । कैलालीका पत्रकार शेरबहादुर ऐरमाथि हिजो राती आक्रमण भएको छ । आक्रमणबाट पत्रकार ऐरको टाउकोमा गम्भीर चोट लागेको छ ।

शनिबार कैलाीको धनगढी–२ मा रहेको रुवस होटलमा एक कार्यक्रममा सहभागी भई खाना खाएर घर फर्किने क्रममा राती ९ बजे होटल परिसरमै पत्रकार ऐरमाथि आक्रमण भएको थियो ।

पत्रकार ऐरका अनुसार “खाना खाएर बाहिर निस्के लगत्तै उनलाई कसैले पछाडीबाट आक्रमण गरेको” थियो । उनले भने– खाना खाएर बाहिर निस्के । कसैले पछाडिबाट हिर्कायो । म टाउको समातेर केही अगाडि आए । होटलको एक जना स्टाफले “तपार्ईंको टाउकोबाट रगत बगिरहेको छ” भने । साथीहरुलाई फोन गरे । र, साथीहरुले सेती प्रादेशिक अस्पताल पुराए ।

रुवस होटलमा शनिबार स्वास्थ्यसम्बन्धी एक कार्यक्रम रहेको थियो । कार्यक्रमपछि राती डिनर” मा स्वास्थ्यकर्मि, निजी अस्पताल सञ्चालक र पत्रकारहरुबीच निजी अस्पताल सञ्चालनका विषयमा तिखो बहस समेत भएको थियो । समाचार लेखिएको विषयमा उनीमाथि हातपात भएको हुन सक्ने आशङ्का गरिएको छ ।

पत्रकार ऐरमाथि भएको घटनाको प्रहरीले छानविन गरिरहेको बताएको छ । घटनाको बारेमा बुझ्ने, होटलको सीसी टिभी फुटेज जाँचबुझ गर्ने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताएका छन् । ‘वास्तविक के भएको हो, त्यो बुझिरहेका छौं’, उनले भने,‘सबैकुरा एकमुष्ट रुपमा पछि बाहिर ल्याउँछौं ।’

 ऐरमाथि भएको कुटपिट घट्ना प्रति रेडियो धनगढीले घोर भर्त्सना गरेको छ । रेडियो धनगढी र धनगढी खबर डटकमले  प्रेस विज्ञप्ति जारी गर्दै शनिवार राति ऐर माथि धारिलो बस्तुले टाउकोमा प्रहार गरिएको घट्ना प्रति घोर निन्दा गरेको हो ।

अपरिचित अज्ञात व्यक्तिले उहाँमाथि कुटपिट गर्दा टाउकोको पछाडि पट्टी भागमा चोट लागेको छ’ सम्पादक हरि जोशीद्वारा जारी  विज्ञप्तिमा भनिएको छ ‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमको आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । हामी पत्रकारलाई असुरक्षित र त्रसित बनाउने यो घटनामा सङ्लनको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षित तथा निर्भयका साथ काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ ।,’