April 18, 2026, Saturday
२०८३ बैशाख ५

उपराष्ट्रपति उम्मेदवार हुन रञ्जिताको उमेर नै पुग्दैन, संवैधानिक व्यवस्था यस्तो छ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन् । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । उनको उमेर ३९ वर्षमात्र भएकोले उम्मेदवार बन्न नसक्ने भएकी हुन् ।

शुक्रबार बिहान नागरिक उन्मुक्ति पार्टीले पार्टीकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर कानुनी व्यवस्थाका कारण उपराष्ट्रपति बन्न उनको उमेर बाधक बनेको छ ।

राष्टपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ । संसद सचिवालयका अनुसार आयोगमा उनले पेश गरेको विवरणमा ३९ वर्षमात्र उमेर भएको छ ।

ऐनको दफा १५ मा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुनका लागि उम्मेदवारको उमेरको गणना गर्दा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिनसम्ममा पैतालीस वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ ।’