आज तराईका जिल्लामा धूमधामका साथ होली पर्व मनाइँदै, थारु समुदायमा आगो भित्र्याउने प्रचलन

धनगढी । आज तराईका अधिकांश जिल्लाहरूमा धूमधामका साथ होली पर्व मनाइँदै छ। बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरीलगायतका तराईका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइन्छ।
तराईंमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। पहाड घरभई तराईमा बस्दै आएकाहरूले पनि आपसमा शुभकामना आदानप्रदान गर्दै आज होली पर्व मनाउँदै छन्।
थारु समुदायमा होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्ने प्रचलन रहेको छ । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन रहेको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरीले बताए । होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले बताए।
‘होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ। देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ,’ उनले भने।
सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाइएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन्।
पुराणहरूका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा परम्परागत रूपमा होली मनाउँदै आइएको छ । द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पूतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहँदै आएको छ।
होलीका अवसरमा आज मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।





प्रतिकृया दिनुहोस्