कैलालीमा ५ लाखले खाए हात्तीपाइलेविरुद्धको औषधि, छैन औषधि खाए / नखाएको सुपरिवेक्ष

धनगढी। कैलालीमा ५ लाख १५ हजार ९५८ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार पाँचौँ दिनसम्म ५ लाख १५ हजार ९५८ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका हुन्।
१०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा ११औँ पटकको अभियान जारी छ। अभियान सञ्चालन भएको पाँचौँ दिनसम्म कुल लक्ष्यको आधा जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोग फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए ।
यस वर्षको अभियान पनि खासै प्रभावकारी देखिएको छैन। कागजमा पोको पारेर घर–घरमा औषधि बाँड्ने कार्य भइरहेको छ तर घरैमा औषधि पाएका व्यक्तिले औषधि खाए वा नखाएको सुपरिवेक्षण गरिएको छैन।
यसअघि १० पटकसम्म कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान असफल भइसकेको छ। जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोग फोकल पर्सन धामीले जान्ने, बुझ्ने र शिक्षित मान्छेले नै हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिने परिपाटी रहेको बताए।
धामीका अनुसार हात्तीपाइले रोग उन्मूलनका लागि लगातार दुई वर्षको अभियानमा ८५ प्रतिशतभन्दा बढी जनसङ्ख्याले औषधि खानुपर्छ। त्यस्तै हात्तीपाइले एक प्रतिशतभन्दा कम हुनुपर्छ।
गत वर्ष कैलालीमा ८०.६७ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको आम औषधि खाएका थिए। यसअघिका वर्षहरूको अभियानमा भने ५० प्रतिशतसम्मले मात्रै औषधि खाएको तथाङ्ग रहेको छ।
कैलालीमा फागुन २४ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी छ। ९ लाख २६ हजार ८९० जनसङ्ख्या रहेको कैलालीमा हालसम्म ५५.६६ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाएको जनाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा १३ हजार ९८८, चुरे गाउँपालिकामा १५ हजार ६८३, गोदावरी नगरपालिकामा ६७ हजार ७७२, गौरीगङ्गा नगरपालिकामा ३३ हजार ६९३ जनाले औषधि खाएका छन्।
यसैगरी घोडाघोडी नगरपालिकामा ४२ हजार ६७, बर्दगोरिया गाउँपालिकामा २२ हजार ३३, लम्कीचुहा नगरपालिकामा ५८ हजार ५५६, जानकी गाउँपालिकामा २७ हजार ५८२ जनाले औषधि खाइसकेको जनाइएको छ।
यस्तै जोशीपुर गाउँपालिकामा १६ हजार २६४, टीकापुर नगरपालिकामा ५५ हजार दुई, भजनी नगरपालिकामा ३५ हजार १०४, कैलारी गाउँपालिकामा ३१ हजार ४०१ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन्।
दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकामा ९६ हजार ८१३ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेका छन्।
हालसम्म सबैभन्दा बढी ७१.५२ प्रतिशत ‘कभरेज’ चुरे गाउँपालिकामा भएको छ। यसैगरी सबैभन्दा कम ४३ प्रतिशत ‘कभरेज’ जोशीपुर गाउँपालिकामा भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।





प्रतिकृया दिनुहोस्