April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले २१ गतेभित्र विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाहका स्वकीय सचिव रामबहादुर विष्टका अनुसार २१ गतेभित्र विश्वासको मत लिने तयारी गरिएको हुन ।

संघीय सरकारमा सत्ता समीकरण बदलिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले सहजै विश्वासको मत प्राप्त गर्ने भएकाले २१ गतेभित्र विश्वासको मत लिने तयारी गरेका हुन । शाह नेतृत्वको सरकारले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको विश्वासको मत पाउने अपेक्षा गरेको छ ।

५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एसका ४ जना प्रदेश सभा सदस्य रहेका छन् ।

चार वटै दल र एक स्वतन्त्रगरी सुदूरपश्चिम प्रदेश सभामा सरकारसँग ४२ जना प्रदेश सभा सदस्य हुने छन् । सुदूरपश्चिम प्रदेश सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।

यसअघिको सरकारले विश्वासको मत पाउन नसकेपछि एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ३० दिनमै ढलेको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।