April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीका व्यवसायी सडकमा उत्रिए, बैंकको चर्को ब्याजदर घटाउन माग

धनगढी । धनगढीका व्यवसायी सडकमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदर मनोमानी बढाउँदा व्यवसाय धरासायी बन्दै गएको उनिहरुले बताएका छन् ।

व्यवसायीहरुले बैंकको ब्याजदर ऋणमा ९ प्रतिशत भन्दा माथि हुन नहुने, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधार गर्नुपर्ने लगायतका माग राखेका छन् ।

एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको आन्तरिक खर्च कटौती गरी स्पे्रड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग पनि उनीहरुले गरेका छन् ।

धनगढी चौराहदेखि पार्कमोडसम्म निकालिएको विरोध र्‍यालीमा व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी गरेका थिए । माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ ।

प्रदर्शनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।