सुदूरपश्चिम सरकार पाँच वर्ष सम्मै चल्छ, हामीले विश्वासको मत पाउँछौ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने बताएका छन्। सोमवार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वमा रहेको सरकार पुरै कार्यकाल चल्ने र विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको दाबी गरेका हुन् ।
‘विश्वासको मतका लागि सबै दलहरुसंग सकारात्मक छलफल भैरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौं। सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन।’ उनले भने- ‘एक्लै कुनै दलसँग पनि बहुमत छैन। यो सरकार ५ वर्ष टिक्नुपर्छ भनेर हामीले दलहरूसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने, ‘सुदूरपश्चिममा मध्यावधि चुनाव हुँदैन, यही सरकार पाँच वर्ष चल्छ।’
मुख्यमन्त्री शाहले मन्त्रिपरिषदमा अहिले ३ जना रहेको र बाँकी मन्त्री छिट्टै नियुक्त गर्नेबारे छलफल भइरहेको पनि बताए। ‘प्रदेश सरकारलाई छिट्टै पूर्णता दिने हो,’ उनले भने।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उक्त सरकार ढलेको थियो । उनलाई समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए। नेपाली कांग्रेसका संसदीय दल नेता शाहको नेतृत्वमा नयाँ सरकार बनेको थियो।
पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले ३० दिन भित्र विश्वासको मत नपाएपछि पुस २६ गते संविधानको धारा १६८ उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् । तर, उनले केही दिन भित्र विश्वासको मत पाउने दाबी गरेका हुन् ।
उनी मुख्यमन्त्री बनेको ११ दिन भइसकेको छ। ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ७ सांसद भएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिनेबारे प्रष्टाइसकेको छैन।
जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत नेताहरूलाई रिहाइ गरिनुपर्ने अडान नागरिक उन्मुक्तिको छ। मुख्यमन्त्री शाहले माओवादी केन्द्रलगायत दलसँग पनि छलफल अघि बढाएका छन्।
केन्द्रमा राष्ट्रपति निर्वाचनका बेला गठबन्धन फेरबदल हुन सक्ने भएकोले माओवादीबाट सरकारलाई समर्थन मिल्ने आँकलन कांग्रेसका सांसदहरूको छ।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ। त्यसैका लागि मुख्यमन्त्री शाहले दौडधुप बढाएका छन्।





प्रतिकृया दिनुहोस्