नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीले पाए आममाफी, भोली रिहा हुँदै

धनगढी। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले माफी पाएका छन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा मिति फागुन ७ गतेदेखि लागू हुने गरी चौधरी सहित ३९५ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद चौधरी बिरुद २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो। फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए। बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी लगिएको थियो।
सांसद चौधरी भोली रिहा हुँदै
सांसद अरुण चौधरीको सम्पूर्ण कैद मिनाहा गरिए पछि भोली रिहा हुने भएका छन्। प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सुचीमा सांसद चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाहा गरेको छ। सजाय मिनाहा भएसँगै उनी रिहा हुने भएका हुन्।
राष्ट्रपति कार्यालयले शुक्रवार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। यता चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुङ्गो नलाग्दै सरकारले माफी दिएको भन्दै आलोचना पनि भइरहेको छ ।
गृह मन्त्रालयले भने मुलुकी अपराध संहिता ऐन, २०७४ बमोजिम कैद मिनाहा गर्ने प्रक्रिया सुरु गरेको हो । रिहाइको प्रक्रिया पुरा गर्न दुई–तीन दिन लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
कैलाली कारागारमा रहेका चौधरीले फागुन ३ गते माफी दिन राष्ट्रपतिलाई पत्र लेखेका थिए । सरकारले सांसद चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाइएको थियो । कैद मिनाहा तथा आममाफी दिने अन्तिम निर्णय राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
सांसद चौधरीले आममाफी पाएपछि नागरिक उन्मुक्तिमा दुई धार
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि सरकारमा जाने कि सङ्घर्षलाई यथावत् राख्ने विषयमा पार्टीमा बहस सुरु भएको छ ।
केन्द्रदेखि प्रदेशसम्मको सरकारलाई समर्थन दिए पनि रेशम चौधरी र अरुण चौधरीको रिहाइको माग राख्दै उन्मुक्ति पार्टी बाहिर बसेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपतिले माफी दिएपछि अरुण चौधरी रिहा हुने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले अहिले उनी रिहा हुने निर्णय मात्र भएको तर रिहा नै भएको अवस्था नरहेकाले सबै प्रक्रिया पुरा गरेर आइसकेपछि मात्र पार्टीले आगामी कदमको बारेमा निर्णय लिने जानकारी दिए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले आमामाफी दिनुभयो, त्यो स्वागतयोग्य कुरा हो । त्यस्तै निर्णय रेशम चौधरीको हकमा पनि गर्नुपर्थ्यो,’ तर त्यस्तो नगरेको कारण आफूहरू अझै दुःखी रहेको उनको भनाई छ ।
सोही पार्टीका नेता सुरेन्द्र चौधरीले भने अब उन्मुक्ति पार्टी प्रदेश सरकारमा सहभागी हुनुपर्ने बताए । उनले भने, ‘रेशम चौधरी र अरुण चौधरीको रिहाइ संघीय सरकारसँग सम्बन्धित हो । प्रदेश सरकारसँग सरोकार राख्दैन त्यसैले प्रदेश सरकारलाई समर्थन र विश्वासको मत दिएको छ भने बाहिर बस्नु हुँदैन ।’
उनले भने, ‘सरकारलाई समर्थन गरेको छ भने त्यसमा सहभागी हुनुपर्छ नत्र समर्थन फिर्ता लिएर विपक्षमा बस्नुपर्छ । एकातिर सरकारको समर्थन पनि गर्ने अर्कोतिर त्यसको विरोध पनि गर्ने दुइटै काम एकैपटक हुनुहुँदैन ।’ अरुण चौधरी बाहिर आइसकेपछि यसबारेमा पार्टीमा छलफल हुने बताउँदै उनले पार्टीलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने तर्क राखे ।





प्रतिकृया दिनुहोस्