April 18, 2026, Saturday
२०८३ बैशाख ५

निलम्बित सांसद चौधरीलाई बयानका लागि जिल्ला अदालत लगियो

धनगढी । निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलाली लगिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले केही बेरअघिकारागारबाट जिल्ला अदालत कैलाली लगिएको हो।

निलम्बित सांसद चौधरीलाई आज बयानका लागि अदालतमा पेस गरिने भएको हो। १९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो।

२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने बताइएको छ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।