April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधानमन्त्री प्रचण्डद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाको निरीक्षण

धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम आएका उनले आज शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका हुन् । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । यसपछि प्रधानमन्त्री सुदुरपश्चिम प्रदेश प्रस्थान गर्ने हुन् ।

प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजका नवनिर्मित संरचनाको निरीक्षणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारले नीतिगत निर्णय गरेर राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाइसकेको बताए ।

‘गेटा मेडिकल कलेज सञ्चालनको प्रक्रिया स्वास्थ्य मन्त्रालयले अघि बढाइसकेको छ । दरबन्दी स्वीकृत गर्ने काम बाँकी छ । छिट्टै पूरा हुन्छ,’ उनले भने, ‘मेडिकल कलेज त बन्ने नै भयो । अब गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन हिजो मात्र क्याबिनेटले निर्णग गरेर सैद्धान्तिक रुपले अघि बढेको छ । अब व्यावहारिक रुपले पनि अघि बढ्छ ।’

कैलाली र कंचनपुरका विभिन्न कार्यक्रममा सहभागिता जनाउन पुगेका प्रधानमन्त्री प्रचण्डले ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री दाहाल कैलाली र कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

महेन्द्रनगरमै खाना खाने र त्यसपछि सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर महेन्द्रनगर फिर्ता हुने जनाइएको छ ।

त्यसपछि महेन्द्रनगरको खुलामञ्चमा हुने १४औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको दाहालले उद्घाटन गर्ने छन्। 

२ः३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र २ः४५ मा कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।आजै ४ः३० मा धनगढी विमानस्थल पुग्ने र काठमाडौँ फर्किने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।