मुख्यमन्त्री भएपछि शाह पुगे रेशमको घर, जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई घरमै गएर भेटेका छन्। शाहले आज बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यसँग घरमा पुगेर भेट गरेका हुन् ।
भेटमा मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने उनकी आमा र परिवारलाई आश्वासन दिएका छन् । टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो।
‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा म आजैदेखि लागिसके’, उनले भने ।
सुदूरपश्चिम प्रदेश सभामा नाउपा निर्णायक रहेको छ। यसअघि नेकपा एमाले नेतृत्वको सरकारलाई नाउपाले विश्वासको मत नदिएपछि एक महिनामै ढलेको थियो। मुख्यमन्त्री शाहले हिजो शुक्रवारनै दुई सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गरेका छन् ।
मुख्यमन्त्री शाहले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमा नियुक्त भएकाहरुले पनि आजनै पद तथा गोपनियताको शपथ लिएका छन् ।
शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ। यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो।
शाहले विश्वासको मत पाउने दाबी गरेका छन्। उनले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने आशा राखेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।





प्रतिकृया दिनुहोस्