सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहको शपथ आज, मन्त्रिपरिषद पनि विस्तारको तयारी

धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहमा प्रदेश प्रमुख देवराज जोशीले शाहलाई पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको हो ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह हिजो नियुक्त भएका हुन । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
शुक्रबार अपरान्ह ३:३० बजे उनले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ। संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
मुख्यमन्त्री शाहले आजै सानो आकारमा मन्त्रिपरिषद विस्तार तयारी गरेका छन्। उनले कांग्रेसबाट एक जना र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतकाअनुसार कांग्रेसका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मन्त्री बन्ने सम्भावना छ ।
शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । कांग्रेसको केन्द्रीय महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेका उनी जिल्ला अधिवेशनदेखि संस्थापन अर्थात् देउवा पक्षमा छन् ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसद छन्। मुख्यमन्त्रीलाई बहुमत पुर्याउन २७ सांसद चाहिन्छ। यसअघिका मुख्यमन्त्रीलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म कसैलाई पनि समर्थन नगर्ने बताएको थियो।
जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीको छ।
प्रदेश सभामा कांग्रेसका १९ सांसद छन्। नेकपा माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १ र नेकपा एकीकृत समाजवादीका ४ जना सांसद छन्।





प्रतिकृया दिनुहोस्