सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाउपा उपस्थित नहुने, एमालेले दियो समाजवादीलाई अफर

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा उपस्थित नहुने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेपनि नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू भने काठमाडौंमै रहेका छन्।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ। प्रदेश सभामा नाउपाका सात सांसद छन्। अहिलेकै अवस्थामा उनीहरूको समर्थनबिना मुख्यमन्त्री रावललाई विश्वासको मत पुग्दैन।
केही दिनअघि काठमाडौं गएका उनीहरू अहिले पनि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन्। ‘हिजो बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल भयो। अहिले पनि हाम्रो पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल हुँदैछ,’ नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले भने,‘विश्वासको मत दिने वातावरण बन्यो भने केहीबेरमा धनगढी फर्किन्छौं।’
बुधबार बस्दै नबसी स्थगित भएको प्रदेश सभा बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। बिहीबार विश्वासको मत नपाए रावल नेतृत्वको सरकार ढल्नेछ। उनी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
काठमाडौंमा रहेका नाउपाका सांसदहरूले शुक्रबार मात्रै धनगढी फर्किने बताए । नाउपा संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरू प्रदेश सरकार गठनमा सहभागी नहुने बताएका छन्।
एमालेले दियो एकीकृत समाजवादीलाई अफर : अढाई वर्ष मुख्यमन्त्री दिन्छौ
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि सङ्कटमा परेको सुदूरपश्चिम प्रदेश सरकार जोगाउने अन्तिम कसरत गरिरहेको नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई अढाई वर्ष मुख्यमन्त्री लिएर सरकारलाई समर्थन गर्न आग्रह गरेको स्रोतले बताएको छ ।
एकीकृत समाजवादीका नेताले भने एमालेको अफर आएको छ तर हामीले अस्वीकार गरेका छौ । समाजवादीले समर्थन गरे पनि सरकार जोगाउन आवश्यक पर्ने सांसदको सङ्ख्या भने पुग्ने अवस्था छैन । त्यसका लागि सभामुखलाई समेत हटाउन सत्तापक्ष तयार भएको छ । सभामुखले मतदान गर्न पाउदैनन् ।
माओवादी केन्द्रका १०, नेकपा एमालेका १०, समाजवादीका चार, राप्रपा र स्वतन्त्रका एक र एक जना सांसद र सभामुखबाट भीम बहादुर भण्डारीलाई समेत हटाएर सरकार जोगाउन २७ जना सांसद पु¥याउने एमालेले कोसिस गरेको स्रोतले बतायो ।
सरकार जोगाउने उद्देश्यले उद्योग मन्त्री दामोदर भण्डारी बुधवार साँझ धनगढी आइपुगेका थिए । राति अवेरसम्म नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको घरमा मुख्यमन्त्री सहित नेकपा एमालेका नेताहरूको बैठक बसेको थियो ।
त्यहीबाट नेकपा एमालेका नेताहरूले समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, स्वतन्त्र सांसद डा. तारा जोशीलाई एमालेका नेताहरूले टेलिफोन मार्फत सरकारमा सहभागी हुन अफर गरेका थिए ।
त्येस्तैै नेकपा एमालेका नेताहरुले सरकारलाई समर्थन गरे वाफत स्वतन्त्र सांसद डा. जोशीलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतले बतायो । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले कसैलाई मुख्यमन्त्री आश्वासन नदिइएको बताए ।
तर नेताहरुकाबीचमा कुराकानी भएको भने पाठकले स्वीकार गरे ।मुख्यमन्त्रीले आज साँझ ५ बजेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । आज विश्वासको मत लिन नसके मुख्यमन्त्री स्वतः पदबाट हट्नेछ ।





प्रतिकृया दिनुहोस्