सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन्। अन्तिम समयमा आएर हिजो स्थगित हुन पुगेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत आज लिने भएका हुन।
सुदूरपश्चिम प्रदेश संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन्। सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो ११ र पुनः १ बजे बोलाईएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो।
गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ। नेकपा एमाले संसदीय दलका नेता रहेका रावलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गरेका थिए ।
सोही व्यवस्थाअनुसार रावलले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ। रावललाई मुख्यमन्त्री नियुक्ति हुँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने बताइरहेको छ। नागरिक उन्मुक्तिबाट प्रदेश सभामा ७ जना सांसद छन्।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए। तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ।
नागरिक उन्मुक्तिका सांसदले मत नदिएमा रावल नेतृत्वको सरकारले विश्वासको मत पाउँदैन, ढल्छ। त्यसकारण सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले पनि नागरिक उन्मुक्ति पार्टीसँग छलफललाई तीव्रता दिएका छन्।
मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो। यीमध्ये नागरिक उन्मुक्ति पार्टीले अहिले विश्वासको मत दिन नसकिने अडान राखिरहेको छ।
प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्। यदी नागरिक उन्मुक्ति पार्टीका सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएमा नयाँ सरकार बन्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नयाँ गठबन्धनबाट सरकार बन्ने वा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले सरकार बनाउने अवस्था आउन सक्छ।





प्रतिकृया दिनुहोस्