प्रदेशसभा बैठक सारिनुमा हाम्रो घोर आपत्ति छ : कांग्रेस नेता शाह

धनगढी । नेपाली कांग्रेसले प्रदेशसभा बैठक सहमति बिना स्थगित गरिएको प्रति घोर आपत्ति जनाएको छ । कांग्रेससँग सहमति नै नगरी बिनाजानकारी सभामुखले बैठक स्थगित गरिएको भन्दै संसदीय दलका नेता कमलबहादुर शाहले आपत्ति जनाएका हुन् ।
कांग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता शाहले आजका लागि बोलाईएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाउने अवस्था देखिएपछि उनको निर्देशनमा सभामुखले बैठक स्थगित गरेको शाहको आरोप लगाएका छन् । ‘बैठक सारिनुमा हाम्रो घोर आपत्ति छ,’ शाहले भने, ‘विश्वासको मत नपाइने अवस्था भएपछि यो सबै गरिएको हो ।’
नेता शाहले बैठक भोलि १ बजेका लागि बोलाइएकाले उनीहरूकै प्रस्तुतिका आधारमा कांग्रेस अगाडि बढ्ने बताए । ‘प्रदेशसभा बैठक भोलि फेरि बोलाइएको छ,’ उनले भने, ‘अब भोलि कसरी अगाडि बढ्ने भन्ने कुरा उनीहरूको प्रस्तुतिमा भर पर्छ ।’
सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ । प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संबिधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसावले नेपाली काँग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताए ।
संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री रावलले भोली विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना सांसदले पक्षमा मतदान गर्नुपर्नेछ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेका कारण मुख्यमन्त्रीले बहुमत प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।





प्रतिकृया दिनुहोस्