April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको हो।

प्रदेश सभा सचिवालयले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिएका हुन ।

बैठक भोलि.(बिहीबार) दिउँसो १ बजे पुन: बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी थियो । रावलले विश्वासको मत नपाउने देखिएपछि अन्य दलसँग छलफलका लागि बैठक सारिएको हो ।

सत्ता गठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्म विश्वासको मत नलिए स्वतः सरकार ढल्नेछ। रावल पुस २७ मा नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए। 

मुख्यमन्त्री रावललाई नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ।

प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्। सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई  विश्वासको मत नदिने बताएको छ।

नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ। नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ।