सुदूरपश्चिमका मुख्यमन्त्री रावल आज विश्वासको मत लिँदै, विश्वासको मत नपाए आजै सरकारबाट बाहिरिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको बताएका हुन।
मुख्यमन्त्री रावलले काठमाडौं पुगेर सत्ता गठबन्धन दलहरूका शीर्ष नेताहरूलाई भेट गर्दै विश्वासको मतका विषयमा कुराकानीसमेत गरेका थिए। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतबारे निर्णय नदिँदा लामो समयदेखि सरकार नै विस्तार हुन सकेको छैन।
हिजो मात्रै नाउपाले विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री रावल आजै सरकारबाट बाहिरिने भएका छन् । विश्वासको मत लिन आज प्रदेश सभाको बैठक बोलाएका मुख्यमन्त्री रावल नाउपा उपस्थित नभए अल्पमतमा पर्ने छन् ।
नेकपा एमालेका एक प्रदेश सभा सदस्यले विश्वासको मत प्राप्त नगरे आजै मुख्यमन्त्री सरकारबाट बाहिरिने बताए । उनले भने, बहुमत प्राप्त नगरे पदमा बसिरहने कुरै भएन ।
यद्दपि नेकपा एमालेका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले विश्वासको मत प्राप्त गर्ने दावी गरे । उनले भने, ‘अहिलेसम्म हामीले विश्वासको मत नपाउने कुरा कल्पना पनि गरेका छैनौ ।’
नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ। नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूका मागलाई सरकारले सम्बोधन नगरेकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई समर्थन गर्न नसकिने बताइन्।
‘हामीले हाम्रा माग पूरा गर्न धेरै पटक पहल गर्यौं। सरकारबाट आश्वासन दिने काम मात्रै भयो,’ उनले भनिन्, ‘हामी सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न सक्दैनौं। त्यसैले विश्वासको मत दिदैनौं।’
सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आज विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री रावल नेतृत्वको अहिलेको सरकार ढल्छ।
नागरिक उन्मुक्ति पार्टीका सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएमा नयाँ सरकार बन्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नयाँ गठबन्धनबाट सरकार बन्ने वा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले सरकार बनाउने अवस्था आउन सक्छ।
प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संबिधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसावले नेपाली काँग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताए ।
नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री रावलले विश्वासको मत लिन आज दिउसो १ बजे प्रदेश सभाको बैठक बोलाएका हुन।
मुख्यमन्त्री रावललाई आज नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ।
प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्।
प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना सांसदले पक्षमा मतदान गर्नुपर्नेछ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेका कारण मुख्यमन्त्रीले बहुमत प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।
यसअघि नागरिक उन्मुक्तिलाई उपसभामुख पद दिने गठबन्धनमा छलफल भए पनि उक्त पद लिन नागरिक उन्मुक्तिले मानेको थिएन। त्यसपछि नेकपा एमालेबाट कोइलीदेवी चौधरी उपसभामुख बनेकी थिइन्।





प्रतिकृया दिनुहोस्