April 18, 2026, Saturday
२०८३ बैशाख ५

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रहेको डिल्लीबजार कारागारमा बसेको बैठकले यस्तो निर्णय हो।

नाउपाका नेता रेशम चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबीच भएको बैठकले विश्वासको मत नदिने निर्णय गरेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने बताएका बेला नागरिक उन्मुक्तिले मत नदिने निर्णय गरेको हो। यस संगै नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावल संकटमा परेका छन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई राजबन्दी रिहा नभएसम्म कसैलाई विश्वासको मत मत नदिने बताइन् । सरकारले पार्टीका संरक्षक समेत रहेका चौधरीलगायतका राजबन्दीको रिहा प्रक्रियासमेत सुरु नभएको भन्दै नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको हो। 

नागरिक उन्मुक्तिको यो निर्णयसंगै सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउदै ढल्ने निश्चित भएको छ । प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

नागरिक उन्मुक्तिको साथ नपाए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिई सक्नु पर्ने संबैधानिक प्राबधान छ । २७ गते रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दैछ ।

अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएर सरकार विस्तार गरिसके पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले भने विश्वासको मत नपाउदा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका थिएन ।

सुदूरपश्चिममा एमालेका १०, माओवादीका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा रावल गत पुस २७ गते नियुक्त भएका थिए।

काँग्रेसमा १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु प्रदेश सरकारको बिपक्षमा छन्। मुख्यमन्त्री रावलले विश्वासको मत नपाए नेपाली काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।